नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको मोबाइलमा मंगलबार दिउँसो ३ बजेतिर टिङटिङ घन्टी बज्यो। बधाईसहितको म्यासेज (सन्देश) पढ्दा उनको मुहार उज्यालो भयो। त्यो खुसी तत्कालै पत्नी नन्दालाई बाँडे। त्यसपछि सवारी साधन चढेर आफू संस्थापक रहेको तिलगंगा आँखा अस्पताल पुगे। सहकर्मी चिकित्सकसँग सभाहलमा खुसी साटे।
६८ वर्षीय डा. रुइतको मोबाइलमा आएको सन्देश प्रतिष्ठित इसा अवार्ड प्राप्तिको थियो। उनले हालसम्म पाएका अवार्डमध्ये सबैभन्दा उच्च हो यो। यति ठूलो रकमको अवार्ड सम्भवतः अरू नेपालीले पाएका छैनन्। यसको नगद राशि १० लाख डलर अर्थात् झन्डै १३ करोड ८ लाख रुपैयाँ छ।
‘डा. रुइतले प्रतिष्ठित अवार्ड पाउँदा हामी सबैलाई उत्साह जागेको छ’, तिलगंगा आँखा अस्पतालमा कार्यरत डा. इन्दिरा पौडेलले भनिन्, ‘उहाँले व्यक्तिगत रूपमा पाएको भए पनि टिमले नै पाएको महसुस भएको छ।’
नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष डा. मीना चौधरीले डा. रुइतको कामले अन्तर्राष्ट्रिय रूपमा नै मान्यता पाएको बताइन्। ‘दृष्टिविहीनलाई नयाँ दृष्टि प्रदान गर्नुभएको थियो। जसको कदर गर्दै प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ’, डा. चौधरीले भनिन्, ‘यस अवार्डले अन्य नेपाली चिकित्सकहरूलाई थप प्रोत्साहन दिएको छ।’