राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट परेको छ । बुधबार सिन्धुलीका युवराज सफलले सभापति रवि लामिछानेविरुद्ध सर्बोच्चमा रिट दायर गराएका हुन् । उनले नागरिकता विवाद चलिरहेकाले रवि लामिछानेलाई सांसद पदमा सपथ नगराइ उनको पद खारेज गर्न माग गर्दै रिट दायर गराएका हुन् ।
रिटमा भनिएको छ, ‘नेपाली नागरिक नभएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, निर्बाचनमा उम्मेदवार हुन, प्रतिनिधि सभा सदस्य हुन नपाउने कानूनी व्यवस्था बिपरीत काम कार्यबाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्बजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो बिषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु ।’
उक्त रिटमाथि पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा तोकिएको छ । लामिछाने चितवनको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अहिले उनको नागरिकता विवादबारे प्रहरीले छानविन गरिरहेको छ ।