प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलाई एमालेले आफ्नो इज्जतका लागि पनि चुनावमा जिताउनु पर्ने बताएका छन् । नेकपा (एमाले) र राप्रपाले शुक्रबार भद्रपुरमा संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले भने, ‘चुनावमा समर्थन गरेको पार्टीले जित्दैन भने एमालेको के काम ? चुनावमा उठेको उम्मेदवारले चुनाव जित्दैन भने एमालेको के काम ? त्यसैले एमालेले राप्रपा अध्यक्ष लिङदेनलाई जिताउनु पर्छ ।’
एमाले एक थोक भन्ने अर्को थोक गर्ने पार्टी नभएको बताउँदै अध्यक्ष ओलीले भने, ‘राप्रपाको हलोलाई कसरी भोट दिने जिज्ञासा मन नराख्नु होला ? हलोमा भोट दिएनन् भने देशद्रोहीहरू आउँछन्, उनीहरूलाई छेक्न कहिले काहीँ हलोमा पनि भोट हाल्नुपर्छ ।’
मंसिर ४ गतेको चुनावपछि देशमा एमालेको बहुमतको सरकार बन्छ । ‘बहुमत आयो भन्दैमा एक्लै एमालेको सरकार बन्दैन’, उनले भने, ‘एमालेको साथमा राप्रपा र जसपा समेतको सरकार बन्छ ।’ त्यसपछिको सरकारमा राजेन्द्र लिङदेन गएपछि विकास खोइ भनेर तपाईँहरूले हिसाबकिताब माग्नुहोस् । देशको विकास गर्न, देशको शान्ति सुव्यवस्था कायम गर्न, देशलाई समृद्धि र जनतालाई सुखी बनाउन सरकारमा जाने हो । ‘नत्र भने त्यहाँ निदाउन, झकाउनु जाने हो र सरकारमा, हामी त्यहाँ चनाखो भएर देशको रक्षा गर्न जाने हो’, उनले भने ।