राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई पदमुक्त गरेकी छन् ।
बिहीबार राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्तिमार्फत् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको जानकारी दिइएको छ ।
पदमुक्त भएका चारै जना मन्त्रीको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हालेका छन् । सत्तारुढ गठबन्धनबाट बाहिरिएर जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका यी चारै मन्त्रीहरुलाई पदमुक्त गरेका हुन् ।
यसैगरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ ।