साझेदारी गर्नुहोस्

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवा सुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयलाई आग्रह गरे । ४ मंसिरमा हुने निर्वाचनको तयारी र संसद्को आयु लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका हुन् ।

‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउन मात्रै संसद् आइँदैन भनेर आउन छोडेको थिएँ,’ बैठकमा उनले भने, ‘तर, पछिल्लो दिनमा संसद्को आयु मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलब भत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने नियमानुसार लेखेर पनि दिन्छु ।’