साझेदारी गर्नुहोस्

काठमाडौँ महानगरपालिकाले सहरका मुख्य ठाउँमा अव्यवस्थित रूपमा राखिएका डिजिटल होर्डिङ बोर्डबाट विज्ञापन प्रसारण बन्द गराउन थालेको छ ।

वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो अभियान थालेको हो ।

महानगरपालिकाले बिहीबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टर तथा कोटेश्वर चोकमा राखिएका बोर्ड बन्द गराएको छ । अन्य ठाउँमा राखिएका बोर्ड पनि बन्द गराइने र यसका लागि आवश्यक अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भन्नुभयो, “त्रिपुरेश्वरमा राखिएको बोर्डले भवनको झ्याल छोपिएको तथा उक्त बोर्डले सडकमा फालेको प्रकाशको मात्रासमेत अत्यधिक भएकाले हटाइएको हो ।”

महानगरपालिकाको राजस्व विभागका अनुसार महानगरभित्र अनुमति लिएर राखिएका होर्डिङ बोर्डको सङ्ख्या ४० छ तर अनुमति लिए पनि कतिपयले मापदण्डविपरीत बोर्ड राखेका छन् । मापदण्डविपरीतका बोर्डलाई मात्र हटाइएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

अचेल कालीमाटी, टेकु, कलङ्की, नयाँसडक, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, बौद्ध, लगनखेल, भक्तपुरलगायत थुप्रै स्थानमा ठूूला डिजिटल बोर्ड राखिएका छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।