प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज (बुधबार) बयान लिँदै छ । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निणर्य गरेको थियो । बैठक बिहान ११ बजे बस्नेछ ।
समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । कार्यतालिका समेत संशोधनसहित पारित गरिएको छ । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ । यसैबीच, महाभियोग सिफारिस समितिले जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको थियो । संघीय संसदले भदौ १० गते सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको थियो ।
यता, सर्वोच्च अदालत बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई प्रमाण उपलब्ध गराएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले माग गरेबमोजिम एशोसिएसनको कार्यसमितिको बैठकले जबरालाई पदमुक्त गर्नुपर्ने आधार प्रमाणका रूपमा पेस गर्ने निणर्य गरेको छ । प्रमाणका रूपमा जबराले विभिन्न मितिमा गरेका फैसला, विभिन्न मितिमा पत्रपत्रिकामा आएका लेख तथा समाचारलाई पेस गरिएको छ । एशोसिएसनले महाअभियोग प्रस्ताव पारित गरेर जबरालाई पदमुक्त गरिदिन पनि संसद्लाई आग्रह गरेको छ ।