साझेदारी गर्नुहोस्
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई जनताका मन जित्ने गरी काम गर्न निर्देशन दिएका छन्। वैशाखमा भएको स्थानीय चुनावबाट जितेर आएका जिल्ला समन्वय समितिका ३४ जना प्रमुख, २३ जना उपप्रमुख, १४१ जना मेयर, ११० जना उपमेयर, १८८ जना अध्यक्ष र १९० जना उपाध्यक्षलाई निर्देशन दिँदै सोमबार सभापति देउवाले अझै पनि सिंहदरबारको अधिकार गाउँमा नपुगेको बताए। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरमा गरेको कार्यक्रममा देउवाले जनप्रतिनिधिहरूलाई भने- जनताको मन जित्ने गरी काम गर्नुस्।

सभापति देउवाले सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाँदा स्थानीय चुनावमा कांग्रेसले सन्तोषजनक सिट जितेको उल्लेख गरे। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर जाने उनले बताए। ‘आमचुनावमा पार्टीका पक्षमा राम्रो परिणाम आउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु,’ देउवाले भने, ‘२०७४ मा हामी एक्लै चुनाव लड्नुपर्ने स्थिति थियो। राम्रो मत ल्याउँदा ल्याउँदै पनि हामीले विपक्षी गठबन्धन (एमाले-माओवादी) बाट प्रभावित भइयो।’ उनले फेरि पनि गठबन्धन गरेर चुनावमा सफलता हासिल गर्नुपर्ने अवस्था आएको बताए। सिट बाँडफाँटका लागि दलहरूबीच छलफल भएको र केही दिनमा निष्कर्षमा पुगिने देउवाले बताए।