साझेदारी गर्नुहोस्

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कन्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। उनले आफू नयाँ प्रधानमन्त्रीको पर्खाईमा रहेको र दलको नयाँ नेतालाई आफ्नो पूर्ण समर्थन रहने बताएका छन्।

सम्बोधनका क्रममा दलको नयाँ नेता नचुनिएसम्म आफूले प्रधानमन्त्री पदमा रहेर जनताको सेवा गरिरहने र नयाँ नेता चुनिएपछि कार्यभार हस्तान्तरण गर्ने जोन्सनले बताए।

जोन्सनले ब्रिटेनको हरेक क्षेत्रको क्षमतालाई उजागर र प्रोत्साहित गर्न जरुरी रहेको उल्लेख गर्दै यसरी ब्रिटेन युरोपमै सबैभन्दा समृद्ध देश बन्न सफल हुने जिकिर गरे।

पद छोड्दा आफूलाई दु:ख लागेको भन्दै जोन्सनले दुनियाँको सबैभन्दा राम्रो जागिर नै जनताको सेवा भएको बताए।

जोन्सनको नेतृत्वमा प्रश्न उठाउँदै ब्रिटेनका अर्थ र स्वास्थ्यमन्त्रीले राजीनामा दिएपछि उनी दबाबमा परेका थिए।

कन्जरभेटिभ पार्टीले अक्टुबरमा आयोजना गरेको सम्मेलनबाट नयाँ प्रधानमन्त्रीको सुनिश्चितता गर्ने बीबीसीले जनाएको छ।