साझेदारी गर्नुहोस्

मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ मा १६ टिमहरूले खेलिरहेका छन् । नेपाली यू-१९ महिला टोलीले पनि नेपाली महिला क्रिकेटकै इतिहासमा पहिलोपटक विश्‍वकपमा सहभागिता जनायो ।

पहिलोपटकको सहभागितामा समूह चरणबाटै बाहिरिए पनि नेपाली टोलीले औसत प्रदर्शन गर्न सफल रह्‍यो । नेपालजस्तै तीन अन्य टोलीले पनि यस विश्‍वकपमा पहिलोपटक सहभागिता जनाएका थिए । सामोआ, नाइजेरिया र मलेसियाले पनि पहिलोपटक सहभागिता जनाउँदा नाइजेरिया सुपर सिक्समै पुग्न सफल भयो ।

अमेरिका क्षेत्रबाट एकमात्र टोलीका रूपमा छनोट भएर अघिल्लो संस्करण पनि खेलेको अमेरिकाले त्यसबेला समूह चरणबाट अघि बढ्न नसके पनि यसपटक शानदार प्रदर्शन गर्‍यो । अमेरिका पनि सुपर सिक्समा पुग्न सफल रह्‍यो ।

एसोसियट टिमले स्तरीय प्रदर्शन गर्दा केही टेस्ट राष्ट्रहरूका लागि भने चूनौतिपूर्ण रह्‍यो । पाकिस्तान समूह चरणबाटै बाहिरिँदा न्युजिल्याण्ड कमजोर टोली सामोआलाई हराउँदै सुपर सिक्समा पुग्यो । वेस्ट इन्डिजले पनि अन्तिम खेलसम्मै कुर्नुपर्‍यो ।

विश्‍वकपमा स्तरीय प्रदर्शन गरेका टोलीहरू तथा नाम अनुसारको प्रदर्शन गर्न नसकेका टोलीहरूका बारेमा आज केही चर्चा गर्नेछौं ।

पहिलोपटक महिला विश्‍वकप खेलिरहेको नाइजेरियका लागि यस विश्‍वकप शानदार भइरहेको छ । पहिलोपटक विश्‍वकपमा सहभागी भएर सुपर सिक्समा पुग्नु आफैंमा ठुलो कुरा हो ।

नाइजेरिया विश्‍वकपको समूह सी मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड र सामोआसँगै थियो । सामोआसँगको पहिलो खेल वर्षाका कारण हुन नसकेपछि अंक बाँडेको थियो । त्यसपछि दोस्रो खेलमा नाइजेरियाले न्युजिल्याण्डमाथि २ रनको रोमाञ्चक जित निकालेको थियो । दक्षिण अफ्रिकासँगको खेलमा डिएल पद्दतिमा पराजित भयो ।

पाकिस्तान बाहिरियो, वेस्ट इन्डिज र न्युजिल्याण्डले पार गरे चूनौति

टेस्ट राष्ट्रहरूमध्येबाट भारत, श्रीलंका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र बंगलादेश सहजै सुपर सिक्समा पुग्दा वेस्ट इन्डिज र न्युजिल्याण्डलाई सुपर सिक्स यात्रा चूनौतिपूर्ण रह्‍यो । पाकिस्तान त अगाडि बढ्नै सकेन ।

वेस्ट इन्डिजले भारत र श्रीलंकासँग हार व्यहोरेपछि अन्तिम खेलमा मलेसियालाई हराउँदै सुपर सिक्समा पुगेको थियो । वेस्ट इन्डिजविरूद्ध १२० रनको लक्ष्य पछ्याउँदा सम्हालिएको सुरूवात गरेपनि मलेसियाले जित्न सकेन ।

त्यस्तै न्युजिल्याण्डले नाइजेरियासँग हार व्यहोरेपछि सुपर सिक्स यात्रा कठिन बन्दा सामोआलाई हरायो । मौसममा असर परेर न्युजिल्याण्ड र सामोआबीचको खेल रद्द भएको अवस्थामा न्युजिल्याण्ड बाहिरिने थियो ।

पाकिस्तानले भने कुनैपनि खेलमा जित निकाल्न सकेन । पाकिस्तानले अमेरिकासँग अंक बाँड्दा इंग्ल्याण्ड र आयरल्याण्डसँग हार व्यहोरेको थियो । पाकिस्तानले प्लेअफमा सामोआसँग खेल्ने छ । पाकिस्तान गत एसिया कपमा नेपालसँग पनि पराजित भएको थियो ।

नेपाल, मलेसिया र सामोआलाई अनुभव

पहिलोपटक विश्‍वकप खेलेकामध्ये नाइजेरिया सुपर सिक्समा पुग्दा नेपाल, सामोआ र मलेसियालाई यस विश्‍वकपमा अनुभव बटुल्ने अवसर रह्‍‍यो । नेपालले अस्ट्रेलिया र बंगलादेश, सामोआले दक्षिण अफ्रिका र न्युजिल्याण्ड तथा मलेसियाले भारत र श्रीलंकाजस्ता टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाए ।

अब प्लेअफमा नेपाल र मलेसिया तथा सामोआ र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणमा जितविहीन रहेका सबै टोलीलाई घर फर्कनुअघि अब सान्त्वना जित निकाल्ने अवसर छ ।