साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखेका थिए।

उनले लेखेका थिए, ‘मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिले पनि बन्दैन।’

बालेनको सचिवालयका सदस्य कुमार बेनका अनुसार केन्द्रीय सरकारले नै बालेनलाई काम गर्न असहयोग गरी मेयर पदबाट राजीनामा दिन बाध्य पार्न खोजिएको बताए।

उनका अनुसार बालेनले २०-२५ दिनदेखि नेपाल सरकारसँग चार-पाँच वटा कुरामा सहकार्य गर्न खोजिरहेका छन्।तर सरकारले कुनै पनि चासो व्यक्त नगरेको उनको भनाइ छ।

‘गृह मन्त्रालयसँग मेयरका लागि सुरक्षा चाहियो भनेर माग गरेका थियौं। त्यसबारे अहिलेसम्म कुनै पनि कुरा आएको छैन,’ बेनले भने, ‘उहाँले प्रधानमन्त्रीसँग भेटेर कुरा गर्न पनि खोज्नुभयो। तर कुनै पनि जवाफ आउँदैन।’

गृह सचिवलाई भन्दा गृह मन्त्रीलाई भन्नु पर्ने र गृह मन्त्रीलाई भन्दा प्रधानमन्त्रीलाई भन्नुपर्ने भन्दै काम नगरेको उनको भनाइ छ।

‘अहिले प्रधानमन्त्री नै गृहमन्त्री हुनुहुन्छ। कुनै पनि कल र म्यासेजको रेस्पोन्स पनि दिनु हुँदैन,’ उनले भने, ‘गृह सचिवलाई काम गर्ने अधिकार नै दिनु हुँदैन। स्थानीय सरकारले सहयोग माग्ने भनेको केन्द्र सरकारमा हो तर केन्द्र सरकारले नै सहयोग नगरेपछि त यो काम नगर भनेर राजीनामा दे भनेर बाध्य पारिएको त हो नि!’

काठमाडौंको मेयर जस्तो मान्छेले आफूलाई सुरक्षा चाहियो भन्दा नदिएपछि आक्रोशमा उक्त स्ट्याटस लेखिएको बेनले बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै बालेनले पुस २९ गते सुरक्षाकर्मी माग गरेको थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएको बताएका थिए।

मंसिर १२ गते थापाथलीको सुकुम्बासी बस्ती हटाउने क्रममा महानगरीय प्रहरीमाथि ढुंगामुढा गर्ने र बालेनलाई ज्यान मार्ने धम्की दिने ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता गरेको थियो। किटानी जाहेरीमा १ महिलासहित ५ जना पुरूष रहेका छन्।

प्रहरीमा किटानी जाहेरी दिँदा पनि ती व्यक्तिहरूलाई नपक्रिएको उनी बताउँछन्।

‘जसको विरूद्ध किटानी जाहेरी दिइएको थियो तिनै व्यक्तिहरू अहिले प्रहरीसँगै हिँडिरहेका छन्। ती व्यक्तिहरूले घरमा गएर ज्यान मार्ने धम्की दिई आफन्तहरूलाई प्रेसर दिइरहेका छन्,’ उनले भने, ‘उनीहरूलाई नियन्त्रणमा लिनुपर्‍यो भनेर भन्दा पनि कसैले कुनै किसिमको चासो व्यक्त गरिरहेका छैनन्।’

मनोहरा आयोजनामा बाँधिएको बाँध जाहेरी दिएकै मानिसको समूहले डोजर चलाई भत्काएको बेनले बताए।

‘मेयरले बोलेको कुरा सरकारले सुन्दैन भने त जनताको कुरा त सुन्दै सुन्दैन,’ उनले भने।