साझेदारी गर्नुहोस्

मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेर मोरङ प्रहरीले आज सार्वजनिक गरेको हो । सोमबार राति हत्या गरिएकी १५ वर्षीया किशोरीलाई उनकै प्रेमीले ज्यान लिएको प्रहरीले बताएको छ । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

 

आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ। आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका हुन्। उनी अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका थिए। प्रहरीका अनुसार किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रहरीसँग आरोपीले बयान दिएका छन् ।

 

विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेको र सामाजिक सन्जालमार्फत ज्ञानमतिसँग नजिकिएको प्रहरीको भनाइ छ। पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन् । घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।

 

प्रहरीका अनुसार ज्ञानमति पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको प्रहरीले जनाएको छ । ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन् । २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेको डीएसपी दाहालले बताए। बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको पाइएको छ।