साझेदारी गर्नुहोस्

“गरिबीले सपना रोक्दैन, अवसर चाहिन्छ” यही उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अभियन्ता केपी खनालको पहलमा सुरु भएको एम.पि छात्रवृत्ति कार्यक्रमले ५५ जना  विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको छ ।

विशेषगरी एसईई दिएर घरमै बसेका गरिब, विपन्न तथा दुर्गम गाउँका विद्यार्थीलाई लक्षित गर्दै ल्याइएको यो अभियानले कक्षा ११ र १२ कक्षामा ५५ जना विद्यार्थीलाई राहत हुने छ । आर्थिक अभावकै कारण पढाइ रोक्न बाध्य भएका विद्यार्थीलाई छात्रवृत्तिमार्फत उच्च शिक्षासम्म पहुँच दिलाउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको बताइएको छ।

यस अभियानलाई अझ प्रभावकारी र विद्यार्थीमैत्री बनाउन शिक्षा क्षेत्रमा सक्रिय युवा सोनित राज ढुङ्गेलले कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्। कलेजहरूसँग समन्वय, विद्यार्थीलाई सही सूचना प्रवाह तथा सम्पूर्ण कार्यक्रम व्यवस्थापनमा उहाँले देखाएको सक्रियता, मेहनत र समर्पणको अहिले व्यापक चर्चा भइरहेको छ।

सांसद केपी खनालले “देश बदल्ने शक्ति शिक्षामा छ” भन्दै दुर्गम क्षेत्रका प्रतिभाशाली विद्यार्थी आर्थिक अभावकै कारण पछि पर्न नहुने धारणा राख्दै आएका छन्। उहाँको सोच, योजना र सोनित राज ढुङ्गेलको समर्पित नेतृत्वका कारण “एम.पि छात्रवृत्ति कार्यक्रम” अहिले धेरै विद्यार्थी तथा अभिभावकको भरोसाको केन्द्र बन्दै गएको छ।

गाउँमै बसेर ठूलो सपना देखिरहेका धेरै विद्यार्थीका लागि यो कार्यक्रम अवसर मात्रै होइन, भविष्य बदल्ने माध्यम बनेको छ। “अब गरिबीले पढाइ रोक्दैन” भन्ने आशासहित विद्यार्थीहरू उत्साहका साथ आवेदन भरिरहेका छन्। आवेदन दिनका लागि तलको लिंक प्रयोग गर्न सकिने छ  https://mpscholarship.kpkhanal.com/