साझेदारी गर्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् ।

उनले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङकन गर्ने उल्लेख गरेका छन् । साथै लामिछानेले सत्यतथ्य सबैकुरा समयसँगै बाहिर आउने बताएका छन् ।

उनले लेखेका छन्, ‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून्। सबै कुरा ईश्वरमा छोडिदिन्छु। समयले सत्य प्रकट गरेर बताउनेछ।’

टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् । नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।

आज मात्रै नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न टि२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो । उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधिन रहँदा उनी विश्वकपको टोलीमा समावेश हुन सकेनन् ।