साझेदारी गर्नुहोस्

गत मंसिर २१ गते राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै सुन तस्करी रोक्ने उपाय सुझाएको छ ।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले आइतबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वनजिक गर्दै सुन तस्करी रोक्न त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा पनि २४ घण्टा चेकजाँचको व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । समितिले विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भीआईपी कक्ष र भीआईपी बिन्दुमा मेटल फ्री गराउनु जरुरी रहेको ‍औँल्याएको छ। त्यसैगरी भीआईपी कक्षमा स्क्यानिङसहितको व्यवस्थालाई त्रिभुवन विमानस्थल कार्यालय र विमानस्थल सुरक्षा प्रहरीले २४ सै घण्टा लागु गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ।

‘विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको भीआईपी कक्ष र भीआईपी बिन्दुमा ‘मेटल फ्री’ गराउने, स्क्यानिङ्ग गर्ने मेतको काम त्रिअवि भन्सार कार्यालय र विमानस्थल सुरक्षा प्रहरीले २४ सै घन्टा ड्युटी रहने गरी संयुक्त सुरक्षा व्यवस्था मिलाउनु पर्ने जरुरी छ’, समितिले सुझावमा भनेको छ | त्यसैगरी त्रिअविको आगमनतर्फ शौचालयको अपाङ्गमैत्री क्याविनको भित्रतर्फको ढोकामा तालासमेत लगाएर शंकास्पद काम हुने गरेको समितिले जनाएको छ।

‘त्रिअविको आगमनतर्फ शौचालयको अपाङ्गमैत्री क्याविनको भित्रतर्फको ढोकामा तालासमेत लगाई गोप्य रुपमा राख्न मिल्ने संरचना रहेको देखियो’, समितिले भनेको छ, ‘यस्ता संरचनाहरू तस्करीको सुन ल्याई लुकाउने गरेको देखिएकोले त्यस्ता छिद्रहरू तत्काल सुधार गर्नुपर्ने।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमनका संरचनाहरूमा सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट विभिन्न छिद्रहरू रहेकोले त्यसलाई पनि नियमन गर्नुपर्ने समितिले जनाएको छ।