साझेदारी गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितका माग अनुसार आफूहरुले सरकारसँग कुरा गर्ने बताएका छन्। मंगलबार भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति पौडेलले अल्पकालीन र दीर्घकालीन योजना बनाएर भूकम्प पीडितहरुको पीडामा मल्हम लगाउनुपर्ने आवश्यकता औल्याए।

उनले जाजरकोटको जिल्ला अस्पतालमा पुगेर बिरामीसँग भेट गरेका छन्। बिरामीहरुकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै उनले बिरामीहरुको गुनासो समेत सुनेका थिए। ‘सरकार छ, तपाईँहरुले चिन्ता गर्नु पर्दैन्,’ उनले भने, ‘अल्पकालीन राहतको व्यवस्था गर्दै पीडितहरुका भत्किएका घरहरु चाँडोभन्दा चाँडो बनाउनेतर्फ सरकारसँग कुरा गर्छु।’ बिरामीहरुको गुनासोकाे जवाफमा राष्ट्रपति पौडेलले भने। राष्ट्रपति पौडेलसँग पीडितहरुले अझै पनि राहत नपाएको भन्दै तत्काल राहतको व्यवस्था र भत्किएका घरहरुको पुन: निर्माणमा सहयोग गरिदिन आग्रह गरेका थिए। जाजरकोटका भूकम्प पीडितहरुले घाइतेहरुको उपचार, खाद्यान्न र आवासको व्यवस्था गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।