साझेदारी गर्नुहोस्

सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का विवादसम्बन्धी मुद्दा खारेजको फैसला सुनाएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारङ्गाप्रसाद सुवेदीको संयुक्त इजलासले गत माघ १४ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै उक्त विवादको मुद्दा खारेज हुने फैसला सुनाएको हो ।

 

अदालतले ठेक्का रद्द गर्ने अधिकार एमसीए नेपाललाई हुने कि नहुने भन्ने विषयमा विस्तृत व्याख्या गर्दै रिट निवेदनको दाबी नपुग्ने फैसला ठहर गरेको हो । फैसलाको पूर्णपाठमा भनिएको छ, “एमसीए नेपालले सुरुमा जारी गरेको बोलपत्रमा अनुमानित रकम उल्लेख नगरी स्पेसिफिकेसन मात्र उल्लेख गरी पछि एडेन्डम–८ मार्फत अनुमानित रकम परिवर्तन गरी निकै ढिला निवेदकलाई जानकारी दिएको देखिँदा एमसीए नेपाल ठेक्का प्रक्रियामा निवेदकजस्तो प्रतिष्ठित र व्यावसायिक कम्पनीलाई कुनै पूर्वाग्रह राख्नुपर्ने अवस्था देखिँदैन, प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।”

 

 

नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को संयुक्त लगानीमा सञ्चालन गर्न लागिएको ६९.७ करोड अमेरिकी डलरको पूर्वाधार आयोजनाको व्यवस्थापनका लागि अर्थ मन्त्रालयअन्तर्गत गठन गरिएको एक सरकारी निकाय हो । यस कार्यक्रमको उद्देश्य आर्थिक वृद्धिमा तीव्रता ल्याउन बिजुलीको उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्नु, सडकको गुणस्तर कायम राख्नु तथा नेपाल र यस क्षेत्रको ऊर्जा व्यापारलाई सहजीकरण गरेको फैसलामा उल्लेख छ ।

 

फैसलामा भनिएको छ, “आयोजनाका लागि बोलपत्र आह्वान गरेकामा प्राप्त बोलपत्रको बोल रकम सारभूत रुपमा अधिक राहेकामा बोलपत्र खारेज गर्ने गरेको निर्णय गलत भन्न नमिल्नुका साथै रिट निवेदकको बोस रकम लागत रकमभन्दा धेरै प्रतिशत अधिक रहेको अवस्थामा पुनः ठेक्का प्रक्रियामा जाँदा नै यो आयोजना तथा यस आयोजनामार्फत सम्झौताको पक्ष नेपालले प्राप्त गर्न खोजेको उद्देश्य उचित समय र मूल्यमा प्राप्त हुने देखिँदा निवेदकको निवेदन मागबमोजिम आदेश जारी गर्नुपर्ने अवस्था विद्यमान देखिएन ।”