नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्न अहिले सम्भव नरहेको बताएका छन्। आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिने र एमालेविरूद्ध सबैभन्दा बढी मोर्चाबन्दी गरेका पार्टीसँग मिलेर वाम एकता हुन नसक्ने उनले बताए। नेकपा एमाले रूपन्देहीले आइतबार भैरहवामा गरेको जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पोखरेलले एमालेविरूद्ध जसले मोर्चाबन्दी गरेको छ उसैलाई ल्याएर वाम एकता हुन नसक्ने बताएका हुन्। एमाले जनतामाझ लोकप्रिय भएकाले नै एमाले एक्लैका विरूद्ध पाँच दलीय गठबन्धन गर्नुपरेको उल्लेख गर्दै गठबन्धन सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै जनताका माझमा जानुपर्ने बताए।
पोखरेलले विगतमा एमाले फुटाएर बनेको पार्टी सफल नभएको र यसपटक पनि नहुने टिप्पणी गरे। ‘माओवादी र नेकपा एकीकृत समाजवादीको विचार, गन्तव्य, लक्ष्यमा नै द्विविधा छ, आफ्नै पार्टी फुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता रहेका पार्टीबाट मुलुकको समृद्धिको सपना नदेखे हुन्छ,’ उनले भने।
















