पोखरामा २०६२–०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको राजा वीरेन्द्रको शालिक फेरि ठड्याइएको छ। पोखरा महानगरपालिका–१० वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको हो । गए राति १ बजेर ४५ मिनेटको शुभ मुहूर्तमा शालिक स्थापना गरिएको बताइएको छ । शालिक ८ फिट अग्लो ढलोटको रहेको छ । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।शालिक ठड्याउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित नेतारकार्यकर्ताको हात रहेको स्रोतले बताएको छ।
पोखराका चोकहरुमा रहेका शालिकका विषयमा विवाद रहँदै आएको छ । विशेष गरी पोखराको पृथ्वीचोक, विरौटाको वीरेन्द्रचोकको शालिकको विषयमा विवाद छ । राप्रपाले पोखराको पृथ्वीचोकमा पनि पृथ्वीनारायणको सालिक पुनस्स्थापनाको माग गरिरहेको छ।पोखरा–९, पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक पनि आन्दोलनका क्रममा तोडफोड गरिएको थियो। पछि त्यहाँ प्रथम सहिद लखन थापाको सालिक राखियो। पृथ्वीचोकमा हाल लगन थापाको शालिक राखिएको छ भने विरौटाको वीरेन्द्र चोकलाई तमु ह्युल चोक नामाकरण गरिएको छ ।

















