नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्।
आमजनसमुदायलाई सम्बोधन गर्दै आज भिडियो आज सन्देश जारी गरी उनले जेनजी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गरे।
देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै संयोजक दाहालले त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताएका छन्। उनले आफू सरकारको नेतृत्वमा रहँदा सुशासन, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको र ठूला भ्रष्टाचार काण्ड उजागर गरिएको भन्दै फेरि पनि पार्टीले सो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।














