विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको अन्तिम फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको अन्तिम फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो ।
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

















