धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान दुर्घटना भएको बसले पोखरादेखि चालक र कर्मचारीसहित ३७ यात्रु लिएर छुटेको खुलेको छ । बसमा ३४ जना यात्रु र अन्य चालक र कर्मचारी रहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।
पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए ।
“पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने । बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।





















