नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा १० करोड डलर वृद्धि भएको छ।
चर्चित म्यागजिन फोर्ब्सका अनुसार सन् २०२६ मा चौधरी ग्रुप (सीजी)का मालिक चौधरीको सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर पुगेको हो।
गत वर्ष उनीसँग २ अर्ब डलरको सम्पत्ति थियो। सन् २०२१ देखि उनको सम्पत्तिमा लगातार वृद्धि भएको देखिएको छ। उनी सन् २०१७ मा अर्बपति क्लबमा प्रवेश गरेका थिए।
२०१७ मा उनको सम्पत्ति १ अर्ब ३० करोड डलर थियो। त्यसपछि २०१८ मा डेढ अर्ब डलरका मालिक बनेका उनको सम्पत्ति सन् २०१९ मा १ अर्ब ७० करोड डलर पुगेको थियो। त्यसपछि कोरोनाले विश्व अर्थतन्त्र र व्यवसायमा प्रभाव पार्दा सन् २०२० र २१ मा उनको सम्पत्ति पनि १ अर्ब ४० करोड डलरमा झरेको थियो।
सन् २०२२ मा पुनः बढेर डेढ अर्ब डलर पुग्दा २०२३ मा १ अर्ब ८० करोड डलर पुगेको थियो। २०२४ मा पनि सोही परिमाणमा रहेको उनको सम्पत्तिमा २०२५ मा २० करोड बढेर २ अर्ब डलर पुगेको थियो।
















