साझेदारी गर्नुहोस्

सरकारले बिगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै धनगढीमा सत्याग्रहमा बसेका डा.गोविन्द केसीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रक्रियालाई बिथोल्न खोजेको भन्दै यस क्षेत्रका बासिन्दाले चर्को विरोध गरेका छन्।

सडकमा प्रदर्शन देखि सामाजिक सञ्जालमा चर्को विरोध जनाएका छन्। डा.केसीले गेटामा स्वास्थ्य प्रतिष्ठान हुनुपर्ने माग राखेकाले मेडिकल विश्वविद्यालय लागि संघर्ष गरेका स्थानीय बासिन्दा केसी प्रति रुष्ट बनेका हुन्। सत्याग्रह गर्न जाने क्रममा मेडिकल कलेजको गेट भित्र नै पस्न डा. केसीलाई रोक लगाउने मेडिकल विश्व विद्यालय संघर्ष समितिले शनिवार पत्रकार सम्मेलन गरेर सुदूरपश्चिमका बासिन्दाको भावना र मर्म विपरीत स्वास्थ्य प्रतिष्ठानको माग राखेको भन्दै आपत्ति व्यक्त गरेको थियो। शनिवार नै चिकित्सा स्वास्थ्य सरोकार सङ्घर्ष समिति नेपालले डा. केसीको सत्याग्रह विरुद्ध धनगढीमा प्रदर्शन गरेको थियो भने स्थानीयले सामाजिक सञ्जालमा चर्को विरोध गरेका छन्।

‘६ सय शय्याको अस्पताल सहितको मेडिकल विश्वविद्यालय बनाउने माग राख्नु भनेर आग्रह गर्दा अहाले मान्नु भएन। सुदूरपश्चिम प्रदेशका बासिन्दाको भावना र मर्म विपरीत मेडिकल विश्व विद्यालयको अघि बढिरहेको प्रकृया बिथोल्न स्वास्थ्य प्रतिष्ठान हुनुपर्छ भनेर सत्याग्रह राखेकोले हाम्रो विरोध हो,’ मेडिकल विश्व विद्यालय सघर्ष समितिका अध्यक्ष लोकराज पाण्डेय आगोले बताए।

सुदूरपश्चिम बासीको सपनाको रुपमा रहेको मेडिकल विश्व विद्यालयको लागि यहाँका बासिन्दाले धेरै सघर्ष गरेको उनको भनाई छ। स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक अहिले राष्ट्रिय सभाको विधायन समितिमा छ।

यसै पूर्व सांसद डा दीपक प्रकाश भट्टले  २१ मेडिकल कलेजमध्ये सुदूरपश्चिममा एउटा पनि नभएको र स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि नभएको अवस्थामा सुदूर पश्चिममा एउटा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न खोज्नु गलत नभएको बताएका छन्।