साझेदारी गर्नुहोस्

जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५०१ घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार ७९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ ।

जाजरकोट भूकम्पले जिल्लाभर रु पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ बराबरका पशुपन्छीको क्षति भएको छ । जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।