नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार धेरै लामो नजाने दाबी गरेका छन् ।
काठमाडौं फर्किने क्रममा चितवनको भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारबारे दाहाले यस्तो अड्कल काटेका हुन् ।
प्रचण्डले ओली नेतृत्वको सरकार धेरै नजाने घोषणा गरिरहँदा कांग्रेस नेताहरू डा. शशांक कोइराला र डा. चन्द्र भण्डारी पनि साथमा थिए ।
‘यो सरकार धेरै लामो जान्छ भन्ने हामीलाई लाग्दैन । यो कुरा मैले प्रष्टसँग भन्ने गरेको छु । यो गठबन्धन स्वभाविक छैन । पारदर्शी पनि छैन । यसका काम पनि उल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजैमर्दो अवस्था भइसकेको छ’, दाहालले भने ।






















