साझेदारी गर्नुहोस्

काठमाडौं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको पक्षमा जनलहर देखिएको छ । शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच विभिन्न राजनीतिक दल परित्याग गरी ८३ जना प्रभावशाली युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सचिन तिमलसेनाले नवप्रवेशी युवाहरुलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे । युवाहरुको यो ठूलो संख्यामा भएको प्रवेशले क्षेत्र नम्बर ४ को चुनावी समीकरणमा नयाँ उत्साह थपेको छ ।

पार्टी प्रवेश गर्दै नवप्रवेशी युवा प्रकाश डंगोलले भने, हामीले लामो समय अरुलाई हेर्यौं, तर अब हामीलाई हाम्रै भावना बुझ्ने युवा र खेलाडी उम्मेदवार चाहिएको छ । सचिन तिमलसेना जस्तो उर्जावान् र खेल क्षेत्रलाई समेत बुझेको व्यक्ति उम्मेदवार हुनु नै हाम्रो लागि गौरवको कुरा हो । त्यसैले हामी उहाँलाई जिताउन कांग्रेस प्रवेश गरेका हौं ।

त्यस्तै, अर्का युवा मनिष तामाङले आफ्नो धारणा राख्दै भने, अहिलेको राजनीतिमा आश्वासन भन्दा पनि डेलिभरी मुख्य कुरा हो । सचिनजीको भिजन र क्षेत्रप्रतिको लगाव देखेर हामी प्रभावित छौं । यो क्षेत्रको विकास र युवा रोजगारीका लागि उहाँको विकल्प छैन, त्यसैले हामी आजैबाट चुनावी मैदानमा होमिने कसम खान्छौं ।

नवप्रवेशी युवाहरुलाई स्वागत गर्दै उम्मेदवार सचिन तिमलसेनाले चुनावी माहोल निकै रोचक र उत्साहजनक मोडमा पुगेको बताए । उनले युवाहरुको साथले आफूलाई थप उर्जा मिलेको उल्लेख गरे ।

उम्मेदवार तिमलसेनाले भने, आज यति ठूलो संख्यामा युवा साथीहरुको आगमनले यो पुष्टि गरेको छ कि काठमाडौं-४ मा परिवर्तनको लहर चलिसकेको छ । युवाहरुको यो प्रवेशले मलाई निकै खुसी तुल्याएको छ र यसले चुनावी माहोलमा अत्यन्तै सकारात्मक प्रभाव पारेको छ । अब हाम्रो जित सुनिश्चित र सहज भएको महसुस गरेको छु ।

उम्मेदवार तिमल्सिनाले थपे, हामी केवल नारामा मात्र सीमित हुने छैनौं । युवाहरुको क्षमतालाई राष्ट्र निर्माणमा जोड्ने र खेलकुद तथा प्रविधिको माध्यमबाट यो क्षेत्रलाई नमूना बनाउने मेरो संकल्प छ । तपाईँहरुको यो विश्वासलाई म टुट्न दिने छैन, अबको समय काम गरेर देखाउने समय हो ।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । युवाहरुको प्रवेशसँगै तिमलसेनाको पक्षमा माहोल निकै बलियो बन्दै गएको र घरदैलो अभियानमा मतदाताहरुको व्यापक समर्थन प्राप्त भइरहेको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।