काठमाडौंको तपस होटलमा ‘सि चिनफिङको आर्थिक विचार र गरिबी निवारण’ सम्बन्धी बहस सम्पन्न
काठमाडौं, फागुन ९ — राजधानीको बत्तीसपुतलीस्थित तपस होटलमा शनिबार ‘सि चिनफिङको गरिबी निवारण सम्बन्धी आर्थिक विचार’ विषयक विचारगोष्ठी तथा पुस्तक विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “फ्रेन्ड्स अन द क्लाउड: प्ल्याटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल” द्वारा आयोजित उक्त कार्यक्रममा चीनको गरिबी निवारण मोडेल र त्यसबाट नेपालले सिक्न सक्ने पाठबारे गम्भीर छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता सोभित उप्रेतीले गर्नुभएको थियो। स्वागत मन्तव्य राख्दै उप्रेतीले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि सफल अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन र आत्मसात् गर्नु समयको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।
मुख्य वक्ताका रूपमा प्रा. डा. कुसुम शाक्य र डा. अग्नि काफ्लेले चीनले विगत केही दशकमा हासिल गरेको तीव्र आर्थिक रूपान्तरण र गरिबी उन्मूलनको अनुभवबारे प्रकाश पार्नुभयो। वक्ताहरूका अनुसार राष्ट्रपति सि चिनफिङको नेतृत्वमा चीनले ‘लक्षित गरिबी निवारण’ रणनीति अवलम्बन गर्दै करोडौँ नागरिकलाई गरिबीको रेखाबाट माथि उठाएको छ। दीर्घकालीन योजना, राजनीतिक प्रतिबद्धता, स्थानीय तहसम्मको बलियो कार्यान्वयन संयन्त्र र उत्पादनमुखी अर्थतन्त्र नै चीनको सफलताको मुख्य आधार भएको उहाँहरूको तर्क थियो।
कार्यक्रममा एक विशिष्ट व्यक्तित्वलाई विशेष सम्मानसहित अभिनन्दन गरिएको थियो। सोही अवसरमा नन्दु उप्रेतीद्वारा लिखित संस्मरण पुस्तक ‘चीन यात्राका यादहरू’ को विमोचन समेत गरियो। उक्त पुस्तकमा लेखकले चीन भ्रमणका क्रममा प्रत्यक्ष देखेका विकास, पूर्वाधार, प्रविधि र सामाजिक व्यवस्थापनका अनुभवहरूलाई समेट्नुभएको छ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व राजदूत विष्णुहरि नेपाल, पूर्व प्रहरी अधिकारी रमेश खरेल, नारायण प्रधान लगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नेपालमा गरिबी निवारणका लागि नीतिगत स्पष्टता, सुशासन, उत्पादन वृद्धि र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
अन्तमा, सौहार्दपूर्ण वातावरणमा रात्रिभोजसहित कार्यक्रम समापन भएको थियो। यस विचारगोष्ठीले चीनको विकास यात्राबाट पाठ सिक्दै नेपालले आफ्नै मौलिक सन्दर्भमा प्रभावकारी नीति तर्जुमा गर्नुपर्ने सन्देश दिएको आयोजकको भनाइ छ ।




















