साझेदारी गर्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भने, ‘एमालेले काँध फेर्न जान्छ, कम्युनिस्ट एकता गर्छ, फेरि मिलौं भनेर जान्छ भने पनि उसको कुरा हो, हामी काँध फेर्न जाँदैनौं । कांग्रेस जे बोल्छ त्यही हो ।’

उनले आफ्नो पार्टी माओवादी केन्द्रसँगको गठबन्धनमा हुँदा पटकपटक एमालेले सहकार्यको प्रस्ताव गरेको बताए ।

कांग्रेसले यसअघि पनि माओवादीसँग सहकार्य गरेको बेलामा एमालेले गरेको प्रस्ताव अस्वीकार गरेको र अहिले पनि आफ्नो बोलीमा प्रतिवद्ध रहेको बताए ।

‘कांग्रेस र माओवादीको संयुक्त सरकार बनिरहेको बेलामा नेकपा एमालेको तर्फबाट पटकपटक कांग्रेसलाई प्रस्ताव गरिएको थियो कि यो सरकार छाडिदिनुस्, कांग्रेसको नेता प्रधानमन्त्री बन्नुस्,’ महामन्त्री थापाले अघि भने, ‘बाँकी सम्पूर्ण कार्यकाल कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हामी तयार छौं भन्ने प्रस्ताव थियो । तर, कांग्रेसले त्यो प्रस्ताव स्वीकार गरेन ।’