साझेदारी गर्नुहोस्

वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्‌जन्य घटनामा उद्धारका लागि हेलिकप्टर सेवा नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ। शनिबार संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा विपद्‌का बेला जनताको ज्यान र सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको उल्लेख छ।

गृह मन्त्रालयले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेपछि संघले आफ्ना सदस्य कम्पनीहरूलाई तत्काल उद्धारका लागि तयार राखेको जनाएको छ।

संघले नेपाल नागरिक उड्डयन प्राधिकरण (त्रिभुवन विमानस्थल)लाई समन्वय अधिकारी तोक्न आग्रह गर्दै सो अधिकारीको निर्देशनअनुसार उद्धार कार्य सञ्चालन गर्ने जनाएको छ।

यस निर्णयले राजधानीमा विपद्‌को समयमा शीघ्र उद्धार कार्यलाई सहज बनाउने र जनजीवन सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।