परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रिकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको बताएका छन् । उनले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताए ।
साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौँमा सुरु भएको एसिया प्रशान्त क्षेत्रको तीन दिने तयारी बैठक सम्बोधन गर्दै मन्त्री साउदले सो कुरा बताएको हो । नेपाल सरकार र शान्ति एवम् निःशस्त्रिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको तयारी बैठकमा उनले साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रणका लागि मुलुकको आन्तरिक क्षमता बढाउनु पर्नेमा पनि जोड दिए ।

















