नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री शर्माले लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गर्नुभएको छ । उहाँले संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौति हल गर्दै मुलुकलाई समुन्नतिको उँचाइमा पुराउने भरपर्दो माध्यम रहेको तथ्यमा कांग्रेस स्पष्ट रहेको उल्लेख गर्नुभएको छ ।
महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गर्दै पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरु गत निर्वाचनमा एक भएर मैदानमा होमिएको स्पष्ट पार्नुभएको छ । उहाँले गठबन्धनबाट उपलब्धि हासिल भए पनि असन्तुष्टि र चुनौतिहरू बढ्दै गएको बताउनुभयो । प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गर्नुभएको छ ।
एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको उहाँको तर्क छ । महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताउनुभयो । महामन्त्री शर्माले राजनीति प्रतिको विकर्षण अन्त्य गरी देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग बृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षा सहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
















