राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्मा उजुरी परेको छ। सिन्धुलीका युवराज सफलले मंगलबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरे समक्ष उजुरी दिएका हुन्। उनले सहकारीबाट रवि लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा सहकारीको ५२ करोड रुपैयाँ हालिएको भन्दै यसको छानबिन हुनुपर्ने बताएका छन्। उनले रवि लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति चाहिने बताएका छन्
‘संसदीय छानबिन समिति आवश्यक परेकोले तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सम्माननीय सभामुखसमक्ष नेपाली नागरिकको तर्फबाट प्रस्तुत निवेदन पेश गरेको छु’, उनले भनेका छन्।
उनले छानबिन गरी लामिछानेमाथि कारवाहीको माग गरेका छन । ‘…३५ हजार बचतकर्ताको कम्तिमा ५२ करोड ग्यालेक्सी टिभीमा डुब्यो भन्ने समाचारका साथै रवि लामिछानेको खातामा सहकारीबाट १ करोड ८० लाख डिपोजिट भएको प्रमाण सार्वजनिक भएको छ। रवि लामिछानेको १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको सेयर खरिद बिक्रीको कागज समेत सार्वजनिक भएको छ’, उनले भनेका छन्, ‘तसर्थ निज रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत सहकारी फाइलहरू जफत गरी अनुसन्धान गरेको अवस्था छ। अत: ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो? सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न आवश्यक पर्ने भएको छ।’

















