जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित छिटफुट वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
यस्तै, महाशाखाले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा बृद्धि भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भागका केही स्थानहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
महाशाखाले तराईका भूभागमा अझै अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
















