राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् ।
पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्बरका अवसरमा आज शुभकामना दिँदै उहाँले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनुनपर्ने बताए । उनले संघ, प्रदेश, स्थानीय तह र सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्रको सक्रियताबाट लैंगिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुनसकेमा मात्र मानवअधिकार दिवसले सार्थकता पाउने बताए ।
व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्नेमा जोड दिए ।
















