काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपमा नेपालको बलिङ राम्रो भएको तर फिल्डिङ र ब्याटिङमा केही कमजोरी भएको बताए । बिहीबार टी-२० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिममा आत्मविश्वास भएपनि अमेरिका र वेष्टइन्डिजको मैदानको स्थितिले ब्याटिङमा धेरै राम्रो गर्न नसकेको बताए ।
‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा । तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन’, उनले भने । कप्तान रोहितले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाए ।
















