साझेदारी गर्नुहोस्

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई माओवादीसँगको एकताका नाममा अर्को गलत दिशातिर नलैजान अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिएका छन्।

काठमाडौंमा दुई दिनदेखि जारी नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै खनालले माओवादी केन्द्रसँग एकता गर्ने कुरा गतल भएको बताएका छन्।

उनले भने, ‘हामी माओवादीसँग एकता गर्ने नाउँमा गलत दिशातिर नजाऊँ। अहिले हामीले अरूको होइन, आफ्नै पार्टीको बारेमा सोच्नुपर्छ। बलियो क्रान्तिकारी पार्टी बनाउनुपर्छ।’

खनालले पार्टी गठनदेखि हालसम्मको चार वर्षको यात्रामा अनेक गल्ती भएको स्वीकार गर्दै त्यसको आत्मसमीक्षा गर्न नेताहरूलाई आग्रह गरे।

खनालले सत्ताको लोभमा पार्टीको वैचारिक दिशा कमजोर भएको बताए। ‘हामी सत्तामा पुग्ने चाहनामा यति फस्यौँ कि नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको पार्टी भन्ने कुरा गर्न पनि नहुने भयो,’ उनले भने।

अमेरिकासँग जोडिएको एमसीसी परियोजनाको विरोध गर्न पनि पार्टी हिचकिचाएको उनले बताए। ‘उपेन्द्र यादवको पार्टीसँग मिल्ने कुरा भएको थियो, प्रचण्ड पनि तयार थिए। तर हामी दक्षिणपन्थी कार्यदिशाको शिकार भयौँ,’ उनले टिप्पणी गरे।