साझेदारी गर्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन गरेका छन्। मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन्।  अवलोकनपश्चात उनले पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

उनले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन लगायतका विभिन्न मठ मन्दिर, स्तूपा, सत्तलको अवलोकन गरेका छन्। उनले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्। उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउन पनि आदेश दिए।  उनले भने, ‘सांस्कृतिक एवं पुरातात्विक महत्वको पशुपति क्षेत्र खुला संग्रहालय हो। यसको सुरक्षा, संरक्षण र सरसफाईमा ध्यान दिनुपर्छ।’ मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर पुनःनिर्माण,  घाट व्यवस्थापनको अवस्थाबारे पनि उनले जानकारी लिए।