साझेदारी गर्नुहोस्

बागमती विश्वविद्यालयले परीक्षा सम्पन्न भएको  एक सातामै नतिजा सार्वजनिक गरेर उच्च शिक्षामा समयमै सेवा दिने नयाँ अभ्यास सुरु गरेको छ। जेठ २५ देखि असार ९ गतेसम्म सञ्चालन भएको पहिलो सेमेस्टरको नियमित परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गरिएको हो।

विश्वविद्यालयले पहिलो वर्षदेखि सञ्चालनमा ल्याएका बीबीए, बीआईटी र बीएड कार्यक्रमका विद्यार्थीहरूको नतिजा समयमै प्रकाशन गरेको हो। नतिजाअनुसार शिक्षा तथा सामाजिक विज्ञान संकायमा ८९.४४ प्रतिशत, विज्ञान तथा प्रविधिमा ७९.०३ प्रतिशत र व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा कुल ३४७ जना विद्यार्थी सहभागी थिए।

उपाध्यक्ष डा. कुसुमराज सुवेदीका अनुसार अब विद्यार्थीले परीक्षाफलका लागि महिनौँ कुर्नुपर्ने अवस्था अन्त्य गरिनेछ। वार्षिक शैक्षिक कार्यतालिकाअनुसार समयमै नतिजा सार्वजनिक गर्ने प्रतिबद्धताले विश्वविद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वास अझ बलियो हुने अपेक्षा गरिएको छ। साथै, नतिजापछि बुधबारदेखि मार्कसिट वितरण पनि सुरु गरिनेछ।

हाल बागमती विश्वविद्यालयअन्तर्गत हेटौँडा क्याम्पस (मकवानपुर), कपन क्याम्पस (काठमाडौं), जनमैत्री क्याम्पस (काठमाडौं), भवानी सङ्कर  क्याम्पस (चितवन खैरहनी ), माडी क्याम्पस (चितवन माडी ) र चैतन्य क्याम्पस (काभ्रेपलाञ्चोक) आबद्ध रहेका छन्। यिनै क्याम्पसमार्फत शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै, शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना प्रक्रिया पनि सुरु भइसकेको विश्वविद्यालयले जनाएको छ।