साझेदारी गर्नुहोस्

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका दुई सय ३१ वटै मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा शुक्रबार नै सर्वदलीय बैठक सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार ‘बुथ’ निर्माणको काम हुने बताए ।‘निर्वाचन सामग्रीसहित, कर्मचारी, सुरक्षाकर्मी बिहीबार नै मतदान केन्द्रमा पुगिसक्नुभएको छ, अहिले मतदानकेन्द्र केन्द्रित तयारी चलिहरेको छ’, उनले भने। मतदान सुरु हुन केही घण्टा बाँकी रहँदा मतदाता आफ्नो मताधिकार प्रयोगको पखाईमा छन् । जिल्ला बाहिर रहेका मतदाता पनि मन परेको उम्मेदवारलाई मत दिन गाउँ फर्किरहेका छन् । स्थिर समय सुरु भएका कारण दलका गतिविधि भने ठप्प छन् ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ । मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा भने सशत्र प्रहरी र नेपाली सेना रहनेछ ।