साझेदारी गर्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज पनि बहस हुँदैछ । मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा परेको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

मंगलबार सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। बहसका क्रममा उनीहरुले लामिछाने निर्दोष भएको दाबी गरेका थिए । लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिएका थिए । त्यसपछि गौसला २६ का तर्फबाट बहस सुरु भएको थियो । आज उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ ।