साझेदारी गर्नुहोस्

अमेरिकाले इरानसँग जारी सैन्य तनावबीच विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता कम गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय लिएको छ। अमेरिकी ट्रेजरी विभागले इरानी कच्चा तेल र पेट्रोलियम पदार्थमाथि लगाइएको आफ्नै प्रतिबन्ध ३० दिनका लागि आंशिक रूपमा हटाउने घोषणा गरेको हो।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जारी गरेको वक्तव्यमा उक्त अस्थायी अनुमति केवल पहिले नै ढुवानी प्रक्रियामा रहेका तेलका कार्गोमा मात्र लागू हुने स्पष्ट पारिएको छ। नयाँ खरिद वा नयाँ अर्डरका लागि भने कुनै छुट दिइएको छैन।

यो निर्णय अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य अभियान अघि बढाइरहेको संवेदनशील समयमा आएको हो। युद्धका कारण तेल आपूर्ति शृङ्खला प्रभावित हुँदा विश्व बजारमा मूल्य अस्थिरता तीव्र बनेको छ।

यसैबीच इरानले आफूले अमेरिका र इजरायलसँग सम्बन्धित ठानेका जहाजहरूलाई निशाना बनाउँदै आक्रमण गरिरहेको छ। विशेषगरी स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल तथा ग्यास आपूर्ति अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा गम्भीर असर परेको छ।

हर्मुज मार्ग विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिन्छ, जहाँबाट विश्वको ठूलो हिस्सा तेल निर्यात हुन्छ। यहाँको अवरोधले तेलको मूल्यमा तीव्र उतारचढाव ल्याएको छ र विश्व अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ।