नेकपा (एमाले) को ११औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र नेतृत्व पुनर्संरचना र जिम्मेवारी बाँडफाँडबारे चर्चा चलिरहेका बेला अनुभवी नेता लीलानाथ श्रेष्ठको नाम विशेष रूपमा उठ्न थालेको छ। लामो समय संगठन निर्माणमा सक्रिय रहनुभएको श्रेष्ठलाई पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताले भरोसायोग्य नेताका रूपमा लिएका छन्।
वि.एल.सम्म अध्ययन गर्नुभएका श्रेष्ठले कानुनी समझ, संगठनात्मक अनुभव र प्रशासनिक क्षमतालाई सँगै अघि बढाउँदै आउनुभएको छ। जिल्ला विकास समिति सिराहाको उप–सभापति, जिल्ला विकास समिति महासंघको केन्द्रीय सदस्य हुँदै उहाँले स्थानीय शासनको अनुभव पनि बटुल्नुभयो।
२०७० सालको संविधानसभा निर्वाचनमा सिराहा क्षेत्र नं. ५ बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अप्रत्यासित प्रतिस्पर्धा गर्नु उहाँको राजनीतिक हैसियतको प्रमाण मानिन्छ। यद्यपि पराजयपछि पनि पार्टीप्रति निष्ठा नडगमग्याई निरन्तर संगठनमा सक्रिय रहनु उहाँको राजनीतिक संस्कारको उदाहरण हो।
२०७४ र २०७९ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित श्रेष्ठले संसदमा विधि, नीति र जनपक्षीय आवाज उठाउँदै आउनुभएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, भूमि व्यवस्था, पर्यटन र संघीय मामिला मन्त्रालय सम्हाल्दा उहाँले कार्यसम्पादनमा संयमता र निर्णय क्षमताको परिचय दिनुभएको पार्टी नेताहरू बताउँछन्।
महाधिवेशनको सन्दर्भमा श्रेष्ठले व्यक्तिगत आकांक्षाभन्दा पार्टी आवश्यकतालाई प्राथमिकता दिने धारणा सार्वजनिक रूपमा राख्दै आउनुभएको छ। “पार्टीले जहाँ आवश्यक ठान्छ, जुन जिम्मेवारी दिन्छ, म तयार छु” भन्ने उहाँको भनाइले पार्टीभित्र सकारात्मक सन्देश प्रवाह गरेको छ।






















