साझेदारी गर्नुहोस्

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको सहज उपलब्धता र गुणस्तर सुधारका लागि ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाउने भएको छ ।

हाल रक्तसञ्चार केन्द्र र अस्पतालहरूबीच समन्वयको अभाव छ । विगतमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रहरू निरन्तर सञ्चालनमा आउन नसक्दा पटक-पटक रगतको अभाव हुने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रगतको गुणस्तरमा देखिएका समस्या समाधान गर्न ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति ल्याइएको जानकारी दिए ।

मन्त्री पौडेलले भने, ‘रक्तदानको दर निकै कम छ र आम नागरिकलाई यसतर्फ प्रोत्साहन गर्नु आवश्यक छ।’

समिति गठन हुने

रगतको गुणस्तर, मापदण्ड निर्धारण गर्न मन्त्रालयले छुट्टै समिति गठन गर्न लागिएको छ । समितिले रगत संकलन केन्द्रहरूको व्यवस्थापन र मापदण्डको अनुगमन गर्नेछ र एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले २५ शैयाभन्दा बढी क्षमता भएका अस्पतालमा रक्तसञ्चार सेवा अनिवार्य गरे पनि हाल धेरै ठूला अस्पतालहरूले समेत बिरामीलाई अन्य रक्तसञ्चार केन्द्रमा पठाउने गरेका छन् ।