साझेदारी गर्नुहोस्

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।

“उच्च अदालतको फैसला चित्त बुझ्यो भने सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ”, उनले भने, “उच्च अदालतको फैसला चित्त बुझेको हुनाले क्रिकेटर लामिछानेको मुद्दामा पुनरावेदन नगर्ने निर्णय भएको छ ।”

महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो । उक्त मुद्दाको गत साउन ४ गते पूर्णपाठ सार्वजनिक भएको थियो ।