साझेदारी गर्नुहोस्

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो ।

अस्पतालका निर्देशक प्रा.डा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको हो ।

महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको उनले बताए।

‘एचबि ब्लड सुगर’, ‘क्रिएटिनिन’ र ‘एसजिपिटी’ परीक्षण निःशुल्क गरिएको निर्देशक लम्सालले बताए। साथै पाठेघरको मुखको ‘भिआइए’ परीक्षण गरिने भन्दै उनले परीक्षणका क्रममा ‘भिआइए पोजेटिभ’ आएकाहरूका लागि सर्भाइकल बायोप्सी (क्यान्सर भएरनभएकोबारे गरिने परीक्षण) निःशुल्क गरिएको उनले जानकारी दिए। स्तन क्यान्सरको परीक्षण भने आवश्यकता अनुसार स्तनको भिडियो एक्सरे निःशुल्क गरिने प्रा.डा लम्सालले बताए।

लक्षित समूहअन्तर्गत भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविका, महानगरको मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारी र महिला पत्रकारहरूको आज परीक्षण गरिँदै छ । यसैगरी मङ्गलबार रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरूको परीक्षण गरिने छ ।