साझेदारी गर्नुहोस्

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एक कार्यक्रममाझ नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण (मेटाबोलिक डिजिज टेस्टिङ) सेवाको उद्घाटन गरेका छन्।

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण (मेटाबोलिक डिजिज टेस्टिङ) सेवा सुरु भएको छ।

सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले प्रसूतिगृहजस्तो देशमै ख्याति कमाएको अस्पतालमा अरू सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको र यो सुरुवात त्यसैको एक कडी भएको उनले उल्लेख गरे ।

‘बाल मृत्युदर कम गर्न हामीले धेरै काम गर्न बाँकी छ,’ उनले भने,‘बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्त्वपूर्ण छ।’

अस्पतालले २० शय्या आइसीयु थप्न लागेको भन्दै मन्त्री पौडेलले जानकारी दिँदै उनले यसबाट अति आवश्यक मातृशिशुका लागि धेरै राहत पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी बहिरंग सेवाको समेत उद्घाटन गरे। उनले भने, ‘मातृशिशुको स्वास्थ्य सुधारका लागि कसरी सेवा बढाउन सकिन्छ हामी लागिरहेका छौँ। सबै क्षेत्र मिलेर मात्र यो सम्भव छ। म यस क्षेत्रमा क्रियाशील सबैलाई सहकार्यका लागि आग्रह गर्दछु।’

मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने बताए।