साझेदारी गर्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

पर्यटनमन्त्री पाण्डेले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रीकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गर्नुभयो ।

उहाँले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महंगो हुने गरेको बताउनुभयो । उहाँले यात्रुहरु शहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महंगो भएको बताउनुभयो । सरकारले महंगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि बताउनुभयो ।

यस पटक धेरै टिकटहरु पहिला नै बिक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको पर्यटनमन्त्री पाण्डेले बताउनुभयो । उहाँले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको बताउनुभयो । त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरै भन्दा धेरै उडान गर्न आग्रह गरेको पनि उहाँले बताउनुभयो ।