साझेदारी गर्नुहोस्

बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेट्नका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल धुलिखेल अस्पताल पुगेका छन्।

मन्त्री पौडेल शनिबार घाइतेको स्वास्थ्य अवस्था बुझ्न काभ्रे आइपुगेका हुन्। धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्मचार्य, डा. राजेन्द्र कोजू लगायतले त्यहाँ उपचाररत घाइतेको अवस्था र अस्पतालले गरिरहेको प्रयासबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए।

मन्त्री पौडेलले घाइतेहरूको अवस्था बुझ्न र उपचार कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने चासोका साथ अस्पताल आएको बताए। उनले बाढीपहिरोमा परेर घाइते सबैको उपचार निःशुल्क गर्ने सरकारले निर्णय गरेको जानकारी दिँदै मन्त्री पौडेलले विपदपछि हुन सक्ने स्वास्थ्यजन्य महामारीको बारेमा सरकार सचेत भएको र त्यसको तयारी गर्न अस्पताललाई निर्देशन दिए।

विपदको समयमा धुलिखेल अस्पतालले पुर्‍याएको सेवा लाई धन्यवाद दिँदै मन्त्री पौडेल विपदमा प्राथमिक दिएर उपचार गर्न अस्पताललाई जोड दिए। बाढीपहिरोमा परेर धुलिखेल अस्पतालमा २ जना सघन उपचार कक्षमा र १८ जना विभिन्न वार्डमा उपचाररत रहेका छन्। केही घाइतेहरू उपचार सकेर फर्किसकेको अस्पतालले जनाएको छ।