साझेदारी गर्नुहोस्

काठमाडौं: काठमाडौं जिल्लामा रहेको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी. विशेष नागरिक अवार्डबाट सम्मानित भएका छन् ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बि.सी.लाई सम्मानपत्र सहित विशेष नागरिक अवार्डबाट सम्मानित गरिन् ।

सामाजिक रुपान्तरणका लागि नागरिक समाजले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्रशासकका रुपमा उनलाई अवार्ड प्रदान गरेको हो ।

अवार्ड सहित सम्मानित भएका बि.सी.ले सम्मानका लागि नागरिक समाज तथा नागरिक क्रियशनलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

सम्मानित भएपश्चात धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले यस अवार्डबाट आगामी दिनमा अझ विशेष जिम्मेवारी थपिएको बताए । उनले भने, ‘यस सम्मानले सरकारी कर्मचारीका रुपमा आम नागरिकको सेवामा विगतमा झैं दत्तचित्त भएर लाग्न मलाई थप हौसला र प्रेरणा मिलेको छ ।’

उनले भने, ‘अब सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा दिने प्रणालीको विकास गर्न जरुरी छ ।’

शनिबार उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा आयोजना गरिएको विशेष नागरिक अवार्ड तथा स्रष्टा सम्मान कार्यक्रममा विभिन्न पेशा, व्यवसाय, कला, खेलकुद लगायतका क्षेत्रमा आवद्द रहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, सो अवसरमा निर्णायक मण्डलबाट छानिएका विशिष्ट व्यक्तित्वहरुलाई विशेष नागरिक अवार्ड समेत प्रदान गरिएको थियो ।

अब्बल प्रशासक मानिन्छन् टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.

निजामति कर्मचारीहरुमाझ टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी. अध्ययनशील तथा मेहनती प्रशासकका रुपमा चिनिन्छन् ।

वि.सं. २०३८ सालमा जन्मिएका बि.सी. सुदुरपश्चिम प्रदेशको डडेल्धुराको जिल्लाको अमरगढी नगरपालिका ९ का स्थायी वासिन्दा हुन् ।

स्कुले जीवनमा सधैं प्रथम हुने बि.सी. अध्ययनमा सधैं रुचि राखेर मेहनत गरेकै कारण प्रशासक बन्न सफल भए । अध्ययनको कुरा गर्दा, उनले एम.फिल गरिसकेका छन्, पिएचडी गर्दैछन् ।

बि.सी.ले वि.सं.२०६१ सालमा राष्ट्रिय मानव अधिकार आयोगमा प्रवेश गरेर सार्वजनिक क्षेत्रमा जागिर सुरु गरेका हुन् । त्यसपश्चात उनले निजामति सेवामा नाम निकाले । उनी महालेखा नियन्त्रक कार्यालयमा अधिकृतका रुपमा प्रवेश गरे । त्यसपछि लोकसेवाको उपसचिवमा नाम निकाले । उपसचिवमा नाम निकालेपछि उनले उद्योग विभाग, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियको कार्यकारी निर्देशकमा समेत कार्य गरे । हाल उनी टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् ।

टोखा नगरपालिकामा नियुक्त भएपश्चात बि.सी.ले कर्मचारीहरुको क्षमता विकासमा जोड दिए । उनले कर सप्ताह तथा कर अभियान संचालन गरेर नगरको आय बढाउन समेत सफल भए । त्यस्तै, उनले सार्वजनिक जग्गा संरक्षणमा समेत पहलकदमी लिएको स्थानीयहरु बताउँछन् ।

नगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई अझ सुदृढ, पारदर्शी र जनमैत्री बनाउँदै छिटो छरितोरुपमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले सूचना प्रविधिको प्रयोगमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी. बताउँछन् ।

टोखा नगरपालिका लाई नमुना नगर बनाउन तल्लीन बि.सी. एक वर्षमा एक दिन पनि बिदा बसेका छैनन् ।

सरकारी सेवामा ढिलासुस्ती नहोस् र आम नागरिकले छिटो, छरितो र पारदर्शी सेवा सुविधा प्राप्त गरुन् भन्दै बि.सी.ले आफ्नो विशेष सक्रियता प्रदर्शन गरेकै कारण विशेष नागरिक अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ ।